अनलाइन खसखस

......रुपान्तरणको खोजीमा

नयाँ पढ्नुहोस्:


भित्तो फुटाएर लास निकाल्ने लेप्चाहरु


‘लेप्चा’ वा ‘लाप्चा’ जे भने पनि यिनीहरुलाई सीमान्तकृत लोपोन्मुख जाति मानिन्छ । अग्ला र मझौला कद भएका, नाक लामो तथा थेप्चो, रातो वर्ण हृष्टपुष्ट शरीर भएका यिनीहरुलाई सहनशिल र विनम्र स्वभावका एकमात्र जाति भनिन्छ । लेप्चाहरुको उत्पतिको बारेमा हालसम्म ठोस ऐतिहासिक प्रमाण उपलब्ध हुन सकेको छैन् । यिनीहरु तेह्रौ–चौधौं औं शताब्दीतिर पूर्वबाट सिक्कम पसी, त्यहीँबाट उत्तर पसेको बताउँछन् जानिफकारहरु । नेपाल एकिकरणको अभियानमा पृथ्वीनारायण शाहलाई ‘याक्ला थो’ नामका व्यक्तिले ठूलो योगदान पु¥याएका थिए । सोही योगदानको उच्च कदर गर्दै सुगौली सन्धिपछि उनलाई त्यसक्षेत्रमा पूर्वी सीमानाको रक्षा गर्न जिम्मा दिई भारतको सिक्किमबाट एक सय लेप्चा घरपरिवार ल्याई बसोबास गर्न दिइएको इतिहासकार इमानसिंह चेम्जोङ्गको मत रहेको छ ।

लेप्चाहरु आफूलाई ‘रोङ्ग’ भन्ने गर्दछन् । जसको अर्थ ‘पर्खनु वा कुर्नु’ भन्ने हुन्छ । उनिहरुका अनुसार आफ्नो सृष्टि देवता ‘छटासेथीङ्’ले देशमा भोकमरी तथा अनिकाल परेमा ३३ वटा गुप्त भण्डारबाट धन र अन्न बितरण गर्न आउने जनविश्वासका कारण आफुहरुलाई ‘रोङ्ग’ भनिएको बताउँछन् । यिनीहरुको मुख्य बसोबास भएको क्षेत्र कञ्चनजङ्घा हिमाली क्षेत्र, त्यस्तै गरी पूर्वी नेपालको इलाम, भारतको सिक्किम, दार्जिलिङ्ग र कालिम्पोङ्गलाई मानिन्छ । विशेषगरी यिनीहरु पहाडी तथा हिमाली क्षेत्रमा बसोबास गर्न रुचाउँछन् ।

पूर्वी इलामको तामसालिङ्ग, जोगमाई, गोर्खे, पशुपतिनगर, गोदक, लक्ष्मीपुर, इरौटार, शान्तिपुर, पञ्चकन्या, फिक्कल, श्रीअन्तु, समालबुङ्क, जिर्मले लगायतका गाबिसहरुमा लेप्चाहरु अहिले पनि बसोबास गर्दै आएका छन् । प्रचीनकाल देखि नै इलाम जिल्लामा लेप्चाहरुको बसोबास भएको हुँदा त्यहाँका धेरैजसो ठाउँको नाम लेप्चा भाषाबाटै नामाकरण गरिएको छ । लेप्चा भाषामा ‘इ’ को अर्थ ‘पुत्का’ र ‘लाम’को अर्थ ‘पाइने ठाउँ’ भन्ने हुन्छ, अर्थात पुत्का ‘मह पाइने ठाउँ’ भएकोले त्यस ठाउँको नाम ‘इलाम’ रहन पुगेको भनाई छ ।

लेप्चाहरुलाई आफ्नै संस्कृति र रहनसहनमा हुर्किएको, आफ्नै भाषा भएको, कसैको जातिय संस्कृतिको प्रभावमा नपरेको जाति मानिन्छ । लेप्चाहरुलाई धनुकाँडमा पारङ्गत जाति मानिन्छ यसका साथै यिनिहरु आफ्नो प्रमुख पेशाका रुपमा पशुपालन गर्दछन् । पशुहरुमा गाई, सुँगुर र कुखुरा पाल्दछन् । चाडपर्व तथा बिहेबारीमा विशेषगरी सुँगुरको मासु प्रयोग गर्दछन् । घुयत्रो, सोला, भाला, धनुकाँडमा पारङ्गत हुने हुँदा सिकार पनि गर्ने गर्दछन् । यिनीहरुलाई ‘बातावरण संरक्षक जाति’ भन्दा पनि हुन्छ । फलफूल र कन्दमूलका बोटविरुवाहरुको संरक्षण गर्ने गर्दछन् । फुलफूल र कन्दमूल बढी मात्रामा खान्छन् । यिनिहरु जंगलमै फलफूल नसड्ने गरी सञ्चय गर्न सक्दछन् । यिनिहरु नारीलाई विशेष सम्मान गर्दछन्,कुनै पनि जनावरको पोथीलाई मार्दैनन् ।

यिनिहरु आफुलाई प्रजातान्त्रिक भएको ठान्दछन्, यससम्बन्धी एक रोचक प्राचीन प्रसङ्ग पनि छ– करिब इसापूर्व ३३०–३२० तिर यिनीहरुका राजा ‘पनु’ले राज्यभिषेकमा गोरुको रगतमा दुवै हात डुबाई ‘सारा जनतालाई बराबर ठान्नेछु, कसैलाई काखा र कसैलाई पाखा गर्नेछैन, सबैलाई बराबरीको व्यवहार गर्नेछु’ भनेर सपथ खाएका थिए रे । यसैताका देखि यिनीहरु आफुलाई प्रजातान्त्रिक भएको ठान्दछन् ।

वि.सं. २०५८ सालको जनगणनाअनुसार ३ हजार ६ सय ६० मात्र जनसंख्या रहेको यिनीहरुको मनपर्ने खाद्यन्नमा घैया(जोकुपाजो), धान(कचेर), जौ(कुन्युङ), मकै(कोङ), जुनेलो(मंकुप), कोदो(कठुकठत), फापर(तघुल) लगायतका पर्दछन् । यिनीहरुलाई जुनसुकै चाडपर्वको कर्मकाण्डमा रक्सी नभई हुँदैन । यिनीहरु रक्सीबाट शुद्धी प्राप्त हुने ठान्दछन् । यिनिहरु विशेषगरी बौद्ध धर्म मान्दछन् । तर अन्य बौद्ध धर्मालम्बीहरु जस्तै शेर्पा, तामाङ भन्दा यिनिहरुको भाषा, लिपि र संस्कारमा फरक रहेको छ । यिनिहरुका बिवाह र मृत्यू संस्कार जस्ता विधिमा आफ्नै जातीय लामा पढाउँछन् । बच्चा जन्मिएको ३ दिनमा कुखुर काटेर जाँडरक्सी र फलफुलको पञ्चामृत ‘ठ्यु’ ख्वाएर चोख्याउने गर्दछन् ।

लेप्चाहरुको बैवाहिक संस्कार रोचक रहेको छ । लेप्चाहरु सामान र गोत्रमा बिवाह गर्दैनन् । यिनीहरु बिवाहलाई आफ्नो भाषामा ‘ब्री’ भन्दछन् । जसको अर्थ हुन जान्छ ‘दुई प्राणीलाई एउटै बनाउनु’ । त्यस्तै यिनिहरुको भाषामा बेहुँलालाई ‘म्येक’ र बेहुँलीलाई ‘न्योम’ भन्दछन् । यिनीहरुको बैवाहिक संस्कार अरुजातिभन्दा फरक छ । बिवाह गर्दा बिभिन्न ७ वटा चरणहरु अपनाउनुपर्ने हुन्छ । जन्ति जाँदा बेहुँलापक्षबाट नगई बेहुँलीपक्षबाट जाने गर्दछन्, जन्ती जाँदा बेहुँली सहित १२ जना जाने गर्दछन्(अहिले यो परम्परा कसै–कसैलेमात्र लागु गरेको पाइन्छ) मागी बिवाह हो भने केटी मागेको समान्यतया डेढ वर्षदेखि तीन वर्षपछि बिवाहको काम सम्पन्न हुन्छ । त्यसबीचमा केटाले केटीकै घरमा बस्नुपर्ने हुन्छ, अनि मात्र बिवाह सम्पन्न हुन्छ र बेहुँली बेहुँलाको घर जान्छिन् । मागनी गरी सकेकी केटी यदि अर्कैकेटीसँग गएमा केटीकी बिहिनी अथवा काकाकी छोरी वा भदैनी समेत दिई डोली भर्ना गर्नुपर्ने अनौठो चलन पनि यिनिहरुमा रहेको छ ।

लेप्चाहरुको धर्म र संस्कृतिमा पनि छुट्टै पहिचान छ । विशेषगरी यिनीहरु पर्वतको पूजा गर्दछन् । पर्वतको पूजा गर्दा यिनीहरु ठूल्ठूल्ला ढुंगाको दुई समुहलाई पर्वत श्रृखंलाको प्रतिकका रुपमा ग्रहण गर्दै पूज्दछन् । सिक्किममा लेप्चाहरु १५ दिनसम्म अनेकौं मनोरञ्जनात्मक कार्यक्रमहरु गरेर ‘नामआल नामवन’ पर्व अर्थात् नयाँ वर्षलाई धुमधामसँग मनाउने गर्दछन् । यसपाली भने सिक्किमका लेप्चाहरु आफ्नो छुट्टै राज्य र अधिकारको ग्यारेण्टीको माग गर्दै मनाएका छन् । त्यस्तै पूर्वी इलामका लेप्चाहरु गाउँ–गाउँमा आफ्नो जातिय पोशाक ‘दाम्प्रा दामबोन’मा सजिएर नयाँवर्षको अवसरमा शुभकामना आदानप्रदान गर्ने गर्दछन् ।

लेप्चाहरुको मृत्यू संस्कार पनि रोचकै छ । यिनिहरुको समाजमा मानिसको मृत्यू भएपछि घरको ढोकाबाट मृतकलाई बाहिर निकाल्दैनन् । अर्कै ठाउँमा भित्तो फुटाएर लास बाहिर निकाल्छन् । यिनिहरु लासलाई जलाउने र गाड्ने दुवै गर्दछन् ।

हाल आएर यिनिहरुमा आफ्नो धर्म संस्कृति, रहनसहनको बचाउ गर्नुपर्छ भन्ने चेतना आएको छ । इलामस्थित यिनिहरुको संग्राहलयमा ऐतिहासिक, साँस्कृतिक तथा पुरातात्विक महत्वका बस्तुहरु राखिएको छ । इलाम महोत्सबसँगै स्थापना गरिएको सो संग्राहलयमा प्राचीन धर्म ग्रन्थ ‘नामथार’, लिपि, ऐतिहासिक कागजपत्र, बाजागाजा, तोप, संगीन, तरबार तथा हातहतियार, दम्बुन दम्बा, जातिय पोशाक लगायतका पुरातात्विक महत्वका सामाग्रीहरु राखिएको छ । त्यहाँ दुर्लभ लेप्चा जातिको उत्थानका लागि ‘रोङ्गसेजुमढी’ नामक उत्थान मञ्च पनि स्थापना भएको बताइएको छ ।
[सन्दर्भ स्रोतहरु : कान्तिपुर दैनिक, कान्तिपुर साप्ताहिक, सुमन लावती(इलाम), नेपालका जनजातिहरु(मधुसुदन पाण्डे), श्रीजनमत साप्ताहिक, हिमगिरी(सिक्किम)]
रहल पढ्नुहोस् >>

ब्लगरहरुको राशिफल !


तपाई राशिफलमा विश्वास गर्नुहुन्छ कि गर्नुहुन्न ? मलाई सो थाहा भएन । तर मलाई चाहिँ राशिफलमाथि पटक्कै विश्वास लाग्दैन् । यससम्बन्धी मेरो रोचक अनुभव छ । पहिले–पहिले म राशिफलको ‘फ्यान’ नै थिए भन्दा पनि हुन्छ । सबै कुरा छोडेर पत्रिकामा आफ्नो राशिफल नै हेर्ने गर्दथेँ । यहाँ सम्म की ! दिनमा म आधा दर्जन पत्रिकाहरुको राशिफल पढ्ने गर्दथेँ । छक्क पर्ने कुरो त के थियो भने मैले हेर्ने गरेका प्रत्येक पत्रिकाहरुमा फरक–फरक भविष्यवाणी गरिएको हुन्थ्यो । एउटामा अध्ययनमा मन जाने भने अर्कोमा अध्ययनमा मन जाने छैन त्यस्तै एउटामा आर्थिक लाभ होला अनि अर्कोमा धन हराउन सक्छ भनेर लेखिएको हुन्थ्यो । अचम्म ! कुनमाथि विश्वास गरुँ म ? विस्तारै मैले पत्रिकामा राशिफल हेर्ने बानी छोडेँ ।

अझै पनि हाम्रो समाजमा राशिफल हेरेर निराश हुने र खुशी हुने मान्छेहरु प्रशस्त छन् । अझ् यस्तो प्रवृति महिलाहरुमा बढि पाइने गरेको छ । मेरा क्याम्पसका केटीहरु राशिफल भनेपछि हुरुक्कै हुन्छन् सबैभन्दा पहिले आफ्नो राशिफल नै हेर्ने गर्छन् । उनिहरुलाई देखेर मलाई हाँसो उठ्ने गर्छ ।

राशिफलको हेर्ने प्रचलन आजभन्दा सयौं वर्षअगाडि भएको थियो(सायद म गलत छु ।) त्यतिखेरका मनिसहरुमा अहिलेको जस्तो चेतना थिएन । उनिहरुलाई पृथ्वीले सूर्यलाई परिक्रमा गर्छ भन्ने कुरा पनि थाहा थिएन अझ उनिहरु उल्टो सूर्यले पृथ्वीलाई परिक्रमा गर्छ भन्ने सोच्दथें । त्यतिखेरको झुठो पद्धतिमा विकास भएको राशिफललाई कत्तिको विश्वसनीय मान्ने ?

धेरै अघि मैले दिनेश भुजु ज्यूको राशिफलबारे एक आलेखको पढेको थिएँ निकै घत परेको थियो मलाई । वहाँले लेख्नुभएको थियो, ‘ज्योतिषहरु के बताउँछन् भने मानिसको रुप, आचरण, व्यवहारमा ऊ जन्मेको बेलाको नक्षत्रको स्थिति आदिले प्रभाव पारेको हुन्छ तर वैज्ञानिक र मनोविज्ञान विश्लेषकहरुको भनाइ भने ज्योतिषहरुको भन्दा फरक र विज्ञानसम्मत छ । उनिहरुको भनाईअनुसार, मानिसको शरीर उसको आचरण भन्ने कुरो पहिलो त वंशाणुले निर्धारण गर्छ, दोश्रो यस्तो कुराको विकासमा सामाजिक वातावरणले ठूलो भूमिका खेल्छ । जस्तै भनौं, कुनै बच्चालाई स्कूल नै नपठाउँदा के ऊ अरुजस्तै शिक्षिका बन्न सक्ला त ? खयर जे होस्, राशिफल चर्चा गरेर टुङ्गीनेवाला छैन् यो पोष्टमा । सबैको आ–आफ्ना तर्कहरु छन् ।

यहाँ भने चाहिँ म ब्लगरहरुको राशिफल र ब्लग भविष्यवाणी गर्दैछु । ‘ब्लगिङ्ग’ मा भर्खर बामे सर्दै गरेको म यस कार्यमा कत्तिको योग्य छु त्यो तपाईहरुले नै मूल्याकंन गर्नुहुन्छ होला । ब्लगिङ्गमा सबैको आ–आफ्नै बेग्लै अनुभव छ र सबैका सोचाई तथा उद्वेश्यहरु पनि बेग्ला–बेग्लै छन् ब्लग खोल्नु र लेख्नुका सम्बन्धमा । एउटा ब्लगरका मनमा कस्ता कुराहरु उठ्छन् त ? ब्लग लेखनका दौरानमा । मैले त्यस्तै कुराहरुलाई समेट्ने प्रयास गरेको छु राशिफलका माध्यमबाट । एउटा कुरा चाहि ठोकुवा गरेर भन्छु, यो राशिफल सार्वमान्य छैन्, नितान्त काल्पनिक हो । यो एक प्रकारको ठट्टा मात्र हो । सबैलाई थाहा छ राशिहरु १२ प्रकारका हुन्छन् तर यहाँ मैले राशिहरुको नामाकरण गरेको छुइन । तपाई नै यसको यसको नामाकरण गर्नुहोला । यसलाई संशोधन पनि गर्नु होला ।
‘क’ राशि :
पोष्टमा कमेण्ट नआउनाले तपाईको मनोबल घट्नेछ । आफैँ कमेण्ट लेखेर टाँस्नुहोला । ब्लग लेख्न छोड्ने मनस्थितिहरु सिर्जना हुन् सक्लान् आवश्यक संयमितता अपनाउनुहोला । यस्तै महिनाका अन्तमा गलत विचारहरु बढ्न सक्नेछन् । गलत विचारहरु बढ्नाले पोष्टहरु पनि गलत हुन सक्छन् । सजग रहनुहोला ।
‘ख’ राशि :
इन्टरनेटको गतिले ब्लग लेखन कार्यमा अवरोध आउन सक्नेछ । बेलैमा आफ्नो इन्टरनेट अपरेटरहरुसँग सम्पर्कमा रहनुहोला । लोडसेडिङ्गको कारणले महत्वपूर्ण पोष्ट समयमा लेख्न नपाउनुहोला आवश्यक व्यवस्था गर्नु नै उपयोगी देखिन्छ ।
‘ग’ राशि :
पोष्टमा बिवाद सिर्जना होला । पोष्टपात्रहरुले धम्की दिन सक्ने योग परेको छ । आलोचकहरुबाट सावधान रहनुहोला । सुरक्षाका लागि ‘नेपाली ब्लगर्स’मा आफूलाई दर्ता गराई समर्थन लिनुहोला ।
‘घ’ राशि :
तपाईको यसपालिको पोष्ट सधैँझैँ सबैका लागि उपयोगी हुन सक्नेछन् । प्रतिक्रियाबाट सबैले पोष्टको गुणगान गाउन पछि पर्नेछैनन् । अझ पोष्टहरु लेख्न मन लाग्नेछ । ब्लग कमेण्ट देखेर राति खानामा रुचि बढ्नेछ ।
‘ङ’ राशि :
टेम्पलेटले धोका दिन सक्नेछ । स्तरीय र आर्कषक खालको टेम्पलेट लगाउनुहोला । जथाभावी थर्ड पार्टी अनुक्रमहरु राख्नाले ब्लग पेज नखुल्न सक्छ । टेम्पलेटमा विशेष ध्यान पु¥याउनुहोला ।
‘च’ राशि :
तपाईको पोष्ट चोरी हुन सक्छ । सबै कपी गरेर आफ्नो वेबसाइटमा हाल्न सक्छन् । तपाईका पोष्टलाई केही अक्षरहरु परिमार्जन गरी सुधारेर हु–बहु कपी गर्ने चोरहरुको बिगबिगी बढेकाले सचेत रहनुहोला । चोरको खेदो गर्न पछि नपर्नुहोला ।
‘छ’ राशि :
गुगल एडसेन्स हालेर पैसा कमाउने सपना चकनाचुर होला । भिजिटरुहको थोरै संख्याले चित्त दुख्ला । महत्वपूर्ण पोष्ट लेखनमा समय व्यतित गर्नु नै उपयोगी होला ।
‘ज’ राशि :
काम व्यवस्तता र फेसबुकको लर्कोले पोष्ट लेख्न समय नपाइएला । तपाईका पोष्ट पर्खेर बसेका पाठकहरु निराश होलान् । मनमा उठेका तर्कनाहरु स्वाहा हुने योग परेकोले पोष्ट तयार गर्नका लागि समय मिलाउनु होला ।
‘झ’ राशि :
के पोष्ट लेख्ने भनेर चिन्ता पर्नेछ । गुगलमा सर्च गर्दा पनि केही नभेटिने योग परेको छ । भेटिएका कुराहरुको पनि छेऊटुप्पा नै नमिलेर टाउको दुख्न सक्नेछ । औषधिको बन्दोवस्त समयमै गर्नुहोला ।
[तस्वीर स्रोत : http://www.scunthorpelive.co.uk]
रहल पढ्नुहोस् >>

‘चुङ्ना’द्वारा बिवाह गर्ने सतारहरु


सतार जातिलाई भारतमा ‘सन्थाल’ पनि भन्ने गरिन्छ । सुनसरी, मोरङ्ग, मोरङ्ग, झापा यिनीहरुको मुख्य बसोबास भएको जिलाहरु हुन् । जसमा सबैभन्दा बढी यिनीहरु झापा जिल्लामा बसोबास गर्ने गर्दछन् । सतारहरु खासगरी कालो वर्णका, कपाल घुम्रेका र होचो कद र पुष्ट शरीर भएका हुने गर्दछन् ।

वि.सं. २०५८ सालको जनगणनाअनुसार यिनिहरुको जनसंख्या ४२ हजार ६ सय ९८ रहेको छ । वि.सं. ०४८ सालको जनगणनामा यिनीहरुको जनसंख्या ३३ हजार ३ सय ३१ मा रहेको थियो यसरी यिनीहरुको जनसंख्या विश्लेषण गर्दा यिनीहरुको जन्मदर अत्याधिक बढेको अनुमान गर्न सकिन्छ ।

मुर्मु, हेम्ब्रुम, किस्कु, मष्डी, ढुडु, बाँस्के, हास्दा, बेसरा, चोडे, पौरिया, वेद्या, छपरा, गोपडुबा लगायतका थरहरु भएका सतारहरुको भेषभूषा सा¥है सरल हुने गर्दछ । सतार पुरुषहरु पातलो कडा, धोती र लङगौटी अनि माथिपट्टि गन्जी लगाउँछन् । सतार महिलाहरु भने सारी र ब्लाउज लगाउने गर्दछन् । यिनीहरुको पारम्पारिक पहिरनलाई ‘पालाहान्द’ र ‘पन्ची’ भनिन्छ । त्यस्तै महिला सताहरु खुट्टामा कल्ली, पाउजेव, हातमा औँठी, चुरा, कानमा मुन्द्राजस्ता गहनाहरु पनि लगाउने गर्दछन् ।

सतारहरु हिन्दु र ईसाई धर्म मान्ने गर्दछन् । अन्य जातिहरु जस्तै यिनिहरु पनि अन्धविश्वास राख्दछन् । विकट भेगमा बस्ने सतारहरु अझै पनि धामी, झाँकी, तन्त्रमन्त्रमा विश्वास राख्ने गर्दछन् । वर्षभरि अनेक देवीदेवताको पूजा गर्ने गर्दछन् । खासगरी देवता रोगव्याधि निको पार्ने देवता र पितृ देवताको पूजा गर्दछन् । अझ यिनिहरु पूजा नगरी जंगल पस्नु हुँदैन भन्ने सोच राख्छन् अनि आफ्नो देवताको पूजा गरेर आर्शिवाद लिएपछि मात्र जंगल पस्ने गर्दछन् ।

सतार जातिहरुको मुखियालाई ‘माजिहडाम’ भन्ने गरिन्छ । माजिहडामका लागि सहयोगी चाहिए ‘परानी’ भनिने एक सहयोगी पनि राखिन्छ । माजिहडामले सतार समुदाय तथा गाउँको झै–झगडा मिलाउने, जन्म, बिवाह र मृत्यू लगायतका कार्यहरुमा सहभागी हुने, गाउँलाई विकास निर्माण गराउने लगायतका काम गर्ने गर्दछ । माजिहडाम सतारको पुस्त्यौली हक हो यदि माजिहडामले बेकम्बा काम गरेमा उसलाई हटाएर अर्को माजिहडाम पनि राख्ने गर्दछन् ।

सतारजातिहरुको मुख्य पेशा भनेको कृषि तथा मजदुरी हो । मजदुरी र खेति किसानीबाट नै आफ्नो र आफ्नो परिवारको गर्जो टार्ने गर्दछन् । यिनीहरुलाई शिकारी जातिका रुपमा हेरिने गरिन्छ । फुर्सद पाउनासाथ शिकार गर्न निस्कने गर्दछन् । शिकार प्रायोजनमा यिनीहरु धनुषवाण नै प्रयोग गर्दछन् ।

अन्य जातिहरुझैँ यिनीहरुको चाडपर्व पनि विशेष हुने गर्दछ । महत्वपूर्ण चाडपर्वमा फागुपूर्णिमा, दशैं, सोहराई, बाहा, एरोक, बिसुवा, साकरात हुन् । दशैं पर्व मनाए पनि टीका भने लगाउने गर्दैनन् । दशैँलाई यिनीहरु ‘छाता पोरब’ भन्ने गर्दछन् । त्यस्तै सतार जातिमा ‘हरियाड’ भन्ने अर्को पर्व हुन्छ । जसमा धामी, झाँकी गर्ने काम सिकाउने गरिन्छ आफ्ना सन्ततिहरुलाई । यो पर्व भदौ पूर्णिमाबाट सुरु भई दशैं टीकाको भोलिपल्ट समाप्त हुने बताइन्छ ।


सतार समुदायमा बिवाह परम्परा निकै रोचक रहेको छ । बिवाह गर्दा केटा र केटीको पुत्ला बनाई बाँसमा ‘पेन्चु बूढा’ ‘पेन्चू बूढी’को नामले झुण्ड्याईं साक्षी राखिन्छ । ‘मन्जिथान’ भन्ने थानमा जाँड र बेसार चढाउने गर्दछन् । गाउँमा प्रकोप नओस् भनी मन्जिथानमा परेवा, सिन्दूर, चिनी, केरा आदि चढाइन्छ । त्यसैगरि सतारहरुमा मागी बिवाह, जारी बिवाह, साटी बिवाह, भाउजु बेहोर्ने बिवाह, बहुबिवाह, बिधुवा बिवाह, घरज्वाइँ राख्ने बिवाह, गर्भवति केटीलाई अर्को केटा खोजी गरिने बिवाह, केटी लगेर जबरजस्ती गर्ने बिवाह, केटालाई जबरजस्ती गर्ने बिवाह लगायतका १२ किसिमका बिवाह प्रथा कायम रहेको पाइन्छ ।

सतार जातिमा छोरी जन्मदा त्यति खुशी हुँदैनन् जति छोरा जन्मिदाको हुन्छ, कारण छोरीका बुबाआमाले छोरीको बिवाहमा ज्वाइँतर्फबाट ‘चुङ्ना’ भनिने दुई घ्याम्पा जाँड र मासु पाउने गर्छन् यदि बिवाहको चुङ्ना पाएपछि छोरी अन्य केटासँग पोइला गएमा माइती पक्षले दुई गुणा बढी चुङ्ना फिर्ता गर्नुपर्ने हुन्छ । केटा र केटीको मन पराएर पनि जबरजस्ती तानेको बयान केटीले माजिहडामलाई दिएमा केटीलाई केटाले सात रुपैयाँ लिएर इज्जतसाथ माइत पुर्यानुपर्छ ।

सतारहरुको अन्तिम संस्कार झनै रोचक छ । यिनीहरु मृतकको शरीर जलाउने र गाड्ने दुवै गर्दछन् । लासलाई जलाउनु र गाड्नुअघि त्यसमा सतार महिलाहरुले तेल लगाईदिने गर्दछन् अनि सिन्दुरको टीका लगाईदिने गर्दछन् । मानिस मरेको भोलिपल्ट ‘तेल नहान’ कार्य हुन्छ । त्यसपछि मात्र मृतकका परिवार र गाउँले शुद्ध भएको मानिन्छ ।
सन्दर्भ स्रोतहरु : कान्तिपुर दैनिक, कान्तिपुर साप्ताहिक, नागरिक साप्ताहिक, पूर्व संन्देश साप्ताहिक, हाम्रो समाचार डटकम, ‘नेपालका जनजातिहरु’ मधुसुदन पाण्डेय, कोशेली सप्ताहिक । तस्बीर स्रोतहरु : झापन्यूज ब्लगस्पट डटकम, तीतोपीरोमीठो डटकम ।
रहल पढ्नुहोस् >>

विकल्प @ कोपनहेगन


मानिसको विलासी जीवन, लार्पावाही, अचेतन मानवीय क्रियाकलापले यतिखेर विश्व नै अहिलेसम्म नसोचिएको खतरासँग नजिकिँदैछ । अत्याधिक कार्बन तथा हरित गृह ग्यास उत्र्सजन, ओजनतहको क्रमिक विनाश र त्यसबाट उत्पन्न जलवायु परिवर्तन र अत्याधिक तापक्रमले नेपाल लगायतका मुलकहरुमा अवस्थित हिमश्रृखंलाहरु प्रतिदिन पग्लदैछन् ।

अझ वर्षैपिच्छे नेपालका हिमश्रृखलाहरुको रुप परिवर्तन हुँदैछ । सन् १९६० सम्म अस्तित्वमै नरहेको ‘इम्जा हिमताल’ यतिखेर सवा २ किलोमिटर लामो र ९ सय मिटर चौडा र ९२ मिटर गहिरो भएको छ । ५ हजार मिटर माथिको यो ताल फुटेमा हिमालय छेऊका गाउँहरुमा गम्भीर प्रभाव पर्ने देखिन्छ । तीब्र गतिमा हिँउ पग्लदै जाने हो भने आगामी केही दशकमा हिमालको पुरै क्षेत्र सुख्खा बन्ने डर बढेको छ ।

हिँउ पग्लनुको प्रमुख कारण तापक्रम वृद्धि नै हो । तापक्रम बढ्नुको प्रमुख कारण ओजोन तहको विनाश हो । बिबिसीको तथ्यांकअनुसार नेपालमा प्रत्येक वर्ष ०.०६ डिग्री सेल्सियस दरले तापक्रम बढेको देखिन्छ । त्यस्तै हिमाली क्षेत्रमा करिब ०.१२ को दरले तापक्रम बढेको देखिन्छ । तापक्रमको वृद्धिसँगै हिँउ पग्लेर ५ हजार भन्दा मुनिका क्षेत्रमा हिँउको तह बिस्तारै पातलिएर चट्टान मात्र बाँकी रहन थालेको आरोहीहरुले बताएका छन् । हिँउ नभई चट्टानमात्र भएपछि अब हिमाल चढ्ने काम पहाड चढ्ने कामजस्तो हुँदैन भन्न सकिन्न, कालान्तरमा सगरमाथा चढेर किर्तीमान राख्नु एक निमेषको काम नहोला भन्न सकिन्न् । अझ त्यतिखेर सर्वोच्च शिखर सगरमाथा नेपालमा छ भनेर धाँक लगाउनु लाजमर्दो कुरा हुन्थ्यो कि ?

जहाँ समस्या त्यहाँ समाधान भनेझैँ यस समस्याबारे बृहत्तर छलफल हुन आवश्यक छ । यस्तो समस्याका सिर्जनाकारहरु विकसित राष्ट्रहरु नै हुन् । जबसम्म यी राष्ट्रहरुले तापक्रम बढाउन योगदान पुग्ने खालका काम नरोकेसम्म समस्याको समाधान हुनेछैन ।

नेपालले अब पहलकद्मी पाइला चाल्नुपर्ने अवस्था आएको छ । डेनमार्कको कोपनहेगनमा हुन लागेको जलवायु परिवर्तनसम्बन्धी विश्वब्यापी सम्मेलनमा नेपालका हिमश्रृंखलाहरुमा परेको असर र समस्याको समाधानका बारेमा केन्द्रित भई दरिलो निर्णयमा सहमति बनाउनु पर्छ । ५ हजार २ सय मिटरको उचाईमा रहेको कालापत्थरमा करिब ६० लाख खर्च गरेर घोषणा पत्र सार्वजनिक गर्दैमा केही हुँदैन । जलवायु परिवर्तनले निम्त्याएको समस्यासँग जुध्न अन्य पर्वतीय देशहरुसँग मिलेर दीर्घकालीन सहमतिका लागि सरोकारवाला देशहरुको घाँटी निमोठ्नुको विकल्प छैन् अब ।
रहल पढ्नुहोस् >>

आलौकिक दनुवारहरु


दनुवार नेपालको पहाडी क्षेत्रमा विशेष गरेर नदी किनारमा बसोबास गर्ने आर्य मूलको एक जाति हो । नेपालका दनुवारहरु निकै हदसम्म थारु जातिसँग निकटता राख्दछन् । भारतमा मूलथलो भएका दनुवारहरु मुसलमानी आक्रमणबाट बच्नका लागि राजस्थान, मेवाड, राजपुताना आदि क्षेत्रबाट उनीहरु नेपाल पसेको बताइएको छ । दनुवारहरुको बसोबास बसोबास मूलतः दून व खोंच उपत्यका क्षेत्रमा भएको पाइन्छ । बाग्मति, कमला, सुनकोशी प्रवाहित क्षेत्र यिनीहरुको मुख्य बसोबास भएको पाइन्छ । विं.सं. २०४८ सालको जनगणनाअनुसार यिनीहरुको संख्या ५० हजार ७ सय ५४ उल्लेख छ । जसमा २४ हजार ४ सय ५८ पुरुष २६ हजार २ सय ९६ महिला रहेका लछन् । २०५८ सालको जनगणनाअनुसार यिनिहरुको जनसंख्या ५३ हजार २ सय २९ रहेको छ

रातो वर्ण मझौलाकद, चेप्टो गोला अनुहार, गालाका हाड केही अग्लो भएका, साना आँखा, कालो कपाल भएका मंगोलमूलका दनुवार हुन् भन्ने चुच्चो नाक, ठूला आँखा, पातलो र अग्लो शरीर, लाम्चाो अनुहार भएको दनुवारहरु हिन्दू आर्यमूलका हुन् । मंगोलमूलका दनुवारहरु काठमाण्डौं, नुवाकोट, पाँचखालतिर बसोबास गर्ने गरेको पाइन्छ । हिन्दू आर्यमूलका दनुवार सिन्धुली, सर्लाही, उदयपुर, गाईघाटका खोँचहरुमा बस्छन् । त्यस अतिरिक्त यिनीहरु ललितपुरको डकु, छाप, काभ्रेको पाँचखाल, बालुवा, भगवति, महादेवस्थान, साठीघर, साँखुका साथै रसुवा, ओखलढुङ्गा, सिन्धुपाल्चोक, भक्तपुर, काठमाण्डौं, गोर्खा, कास्की आदि ठाउँमा पनि बसोबास छ । दनुवारहरुको बसोबास भएको जिल्ला करिब ३० जति भएको बुझिएको छ ।

यिनीहरुको भेषभूषा त्यस स्थानको हावापानीअनुसार भएको पाइन्छ । तरार्ई क्षेत्रका दनुवारहरुको गन्जी, धोती, कछाड, लुँगी गर्मीमा र जाडोमा कमिज, स्विटर, कमिज पाइन्ट लगाउँछन् । महिलाहरुले ब्लाउज, सारी, युवतिहरुले ब्लाउज सारी वा कुर्तासुरुवाल लगाउँछन् । गहनामा चाँदीका चुरा, घाँटीमा हँसुली, सिक्री, जन्तर नाकमा नत्था लगाउँछन् ।

दनुवारहरुको प्रमुख पेशा कुषि, मजदुरी र पशुपालन हो । फुसर्दका समयमा माछा मार्न जाने, शिकार खेल्न जाने पनि गर्दछन् । अलिअलि पढेकाहरु जागिरमा प्रवेश गरेको पनि पाइएको छ । थारु संस्कृतिको निकट मानिने दनुवारहरुका घरहरु थारुहरुका जस्ता लामालामा पनि हुँदैनन् र धेरै कोठा भएका पनि हुँदैनन् । तापक्रम र मौसमी गतिविधिका आधारमा निर्माण गरिने यिनिहरुको घरहरु तराईमा काठ र बाँसको प्रयोग गरेरर बनाइएको हुन्छ र छानो फुसको हालिएको हुन्छ । धनी दनुवारहरुले काठको प्रयोग धेरै गरेका हुन्छन् र छाना पनि जस्ता या टायलले छाएका हुन्छन् । तराई र भित्री मदेशमा दनुवारका घरमा प्रायःजसो भुइँतला गाई र बाख्रा राख्ने गर्दछन् । पहाडका दनुवारहरुका घरका भुइँतालामा अगेनो र बस्ने ठाउँ बताइएको हुन्छ ।
दनुवारहरु अलौकिकि र अदृश्य शाक्तिमाथि विश्वास राख्दछन् । तिनै शक्तिको उपासनामा कार्यसिद्धि गर्ने प्रायास गर्दछन् । धामी, झाँक्री, तन्त्र, मन्त्रको ब्यापक प्रयोग गर्दछन् । कुनैकुनैं दनुवारहरुले त आफ्ना पुर्खाहरुले आवश्यक परेमा तान्त्रिक शक्तिको प्रयोग गरेर बाघको स्वरुप लिनसक्ने शक्ति भएको पनि बताउँछन् । ठूलो बाढी पनि सजिलै तरेर हिँड्न सक्ने, खोलामा अलप हुनसक्ने, एउटा खोलाको माछा अर्को खोलामा ल्याउन सक्ने शक्ति भएको बताउँछन् । दनुवारहरुले बिभिन्न खाले देवीदेवता पुज्दछन् । कमला खोँचका दनुवारहरु आफ्नो बस्तीको पूवपट्टि काष्ठप्रतिमा बनाई आफ्ना इष्टदेवतालाई बर्षेपिच्छे पुज्छन् । खासगरी बाली लगाउने र उठाउने बेलामा सामुहिक रुपमा पुज्ने गर्छन् र तिनै इष्टदेव नै दनुवार बस्तीलाई बाह्य पैशाचिक शक्तिबाट बचाईराखेको विश्वास गर्दछन् ।

दनुवार समाजमा जन्म, नामाकरण, छेवर, बिवाह र अन्त्येष्टि संस्करलाई मुख्य रुपले मनाइन्छ । पाँचखाल नुहाइदिन्छन् । तीनदेखि एघार दिनमा न्वारन गरी नामाकरण गर्दछन् । पर्वत क्षेत्रका दनुवारहरुले १०–११ दिनमा न्वारन गर्छन् । दनुवार र थारुहरुले एउटै खालका नाम राख्ने गर्दछन् । महिनाका नामबाट, बारका नाममबाट बालकको नाम राखेका हुन्छन् तर पहाडी दनुवारहरुले भने राम, सीता, कृष्ण, लक्ष्मण नाम राखी त्यसमा बहादुर जोड्छन् ।

छेवर संस्कार हिन्दू समाजको केशमुण्डन जस्तै हो । छेवर गर्दा बालकलाई धोई सफासुग्घर पारेर केश काटिन्छ । केश मामाले काट्नुपर्छ । मामाले सुरु गरेर हजामले पूरा गर्दछ । त्यसपछि बाकलाई टोपी लगाइदिन्छन् र उपहार दिने चलन छ । काटेको केश नदी वा पवित्र विसर्जन गर्दछन् ।

दनुवार समाज विविध गोत्रमा विभक्त छन् । बिवाह गर्दा एउटै गोत्रबाट नगरी गोत्र फरक पारेर गर्ने चलन छ । यिनीहरुमा मागी बिवाह, प्रेमबिवाह र अपहरण बिवाह प्रचलित छ । मागी बिवाहमा केटापक्षबाट केटीपक्षमा प्रस्ताव पठाइन्छ । त्यस्तो प्रस्ताव आयो भने स्वीकृति वा अस्वीकृति जनाउनुपर्छ । स्वीकृतिलाई ‘बागदत्त’ भन्दछन् । मागी बिवाहलाई खर्चिलो मान्नेहरु अन्य बिवाह गर्ने गर्दछन् । बिवाहमा बढी आर्थिक भार दुलाहा पक्षलाई पर्ने हुँदा दनुवार जातिमा छोरा जन्मिदा रुन्छन् या चिन्ता गर्न थाल्छन् । दनुवार समाजमा सम्बन्धविच्छेद अत्यन्तै सरल छ । लोग्नेसँग मन मिलेन भने केटी माइती गएर बस्छे । केटो श्रीमति लिन जान्छ तर ऊ घर फर्किन मान्दिन । त्यसपछि समाज बस्छ र केटापक्षलाई बिवाह खर्च फिर्ता दिन्छन् र केटीपक्षले पनि दिएको दाइजो फिर्ता माग्छन् र फिर्ता गराइन्छ । त्यसपछि केटाकेटी दुवै पुनबिवाह लागि योग्य हुन्छन् अर्थात् पारपाचुके हुन्छ ।

अन्य जातिहरुमामाझैँ दनुवार जातिमा पनि बिभिन्न थर छन् । राई, अधिकारी, जनैधारी र नाइलन वस्त्रधारी चार थर भएको पाइन्छ । कसैकसैले यिनिहरुको एक थर धामी पनि बताएका छन् र झारफुक गर्नेहरुलाई धामी दनुवार भनिन्छ । आफूलाई अरुभन्दा उच्च देखाउने उद्वेश्यले नामको पछाडि अधिकार दनुवार लेख्नेहरु पनि छन् । त्यसका अतिरिक्त जनै लगाउने दनुवार पनि छन् जसले ब्राह्मणको रुपमा पुजापाठ गर्ने गर्दछन् । यी बाहेक मिर्दाहा, गुरो, कुमार, राय, रवान, चौधरी, सिंह पनि दनुवार जातिभित्रै पर्दछन् । पूर्व तराईका दनुवारहरुमा कछारे र रझन भन्ने २ थरी छन् । रझनहरुले आफूहरुलाई कछारेभन्दा उच्च ठान्दछन् ।
दनुवार समाजमा मृत्यूलाई एउटा सहज प्रक्रियाका रुपमा लिइएको छ । यो समाजमा कसैको मृत्यू भयो भने यदि बालक छ भने नदी किनारमा गाउँका छेउछाउ पाखामा लगेर गाड्ने गरिन्छ तर वयस्कलाई भने दाहसंस्कार नै गरिन्छ । कसैकसैले मात्र वयस्कलाई गाड्छन् । यिनिहरुमा छोराले मात्र किरिया बस्नुपर्छ भन्ने मान्यता छैन दाजुभाई पनि सरसल्लाहबाट किरिया बस्न सक्छन् । मृतकका नातिलाई समेत किरिया बसालेको पाइन्छ । जतिजना छोरा भए पनि एक जनामात्र किरिया बस्ने चलन छ । किरिया बस्नेले हातमा बाँसको लठ्ठी र कलम बोकेर गाउँ घुम्छन् । तिनिहरुलाई छुनु हुँदैन । बाह्रै मदिनमा किरियापुत्री हुने चलन छ ।

हिन्दू सामाजमा जस्तो लास नजलुन्जेल कुरेर बस्ने, ओल्टाई पल्टाई गरे जलाउने काम यिनिहरुले गर्दैनन् । लासमा दागबत्ती दिएर घर फर्किन्छन् र भोलिपल्ट लासको निरिक्षण गर्न घाटमा जान्छन् । यदिन जल्न बाँक रहेछ भने ती अंशलाई पुनः जलाएर घर फर्किन्छन् । यिनीहरुमा १३ दिनसम्म किरिया बस्ने चलन छ । तेह्रौ दिनमा घाटमा गएर पिण्डदान दिएर पितृलाई अन्तिम बिदाई गर्ने चलन छ । तेह्रौं दिनमा घाटमा गएर पिण्डदान दिएर पितृलाई अन्तिम बिदाई गर्ने चलन छ । तेह्रौ दिनमा गाउँले र मलामीलाई भनेर खुवाउने चलन छ । दनुवार जातिको पुरेत ‘हजाम’सन्तुष्ट भएन भने भतेर खान मान्दैन र ब्राह्मण पुरोहितलाई नखान आग्रह गर्छ । त्यस्तो भयो भने कर्ताले दान दक्षिणा थप गरी पुनः भतेर खान अनुरोध गर्छन् । अनिमात्र उनीहरुले खान्छन् दनुवारहरुमा १३ दिनको श्राद्धबाहेक मासिक, वार्षिक, श्राद्ध गर्ने चलन छैन ।
रहल पढ्नुहोस् >>

Related Posts with Thumbnails